फाइल फाेटाे
दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर अलपत्र चार लेन सडकको सम्झौता तोडिएको बताउनुभएको छ ।
रेडियो मध्यपश्चिमको १७ औँ स्थापना दिवसको अवसरमा आज साेमवार भएको कार्यक्रममा मन्त्री शर्माले अलपत्र चार लेन सडक ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिनुभएको हो । भारतीय ठेकेदारका कारण लामो समयसम्म निर्माण हुन नसकेर अलपत्र परेको घोराही–तुलसीपुर सडकको सम्झौता तोडिएको र एक दुई दिनभित्रै नयाँ ठेक्काको सूचना जारी हुने पनि बताउनुभयो ।
नयाँ प्रक्रियामा नजाँदासम्मका लागि सडकको मर्मत र निर्माणका लागि अब सडक डिभिजन कार्यालयले बर्खाअघि नै मर्मत–सुधारको काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
घोराहीको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको झन्डै २८ दशमलव १९ किलोमिटर सडक ३० महिनाभित्र निर्माण सक्ने गरी २०७६ पुस महिनादेखि काम सुरु भए पनि अहिलेसम्म सकिएकाे छैन । यसबीचमा चार पटक म्याद थप भइसक्दासमेत सडकको भौतिक प्रगति झन्डै १० प्रतिशतमात्रै छ ।
तपाईको प्रतिक्रिया !