पाल्पा, कात्तिक ७ गते । दसैंमा मात्र यहाँका महिलाले करिव ५० लाखको खसीबोका बिक्री गरेका छन् । जिल्लाको रम्भा गाउँपालिकास्थित फोक्सिङ्कोटका महिलाले दसैंको मुखैमा ४८ लाख २७ हजार रुपियाँको खसीबोका बिक्री गरेका बताएका छन् ।
यहाँका महिलाको सक्रियतामा फोक्सिङ्कोटमा व्यावसायिक बाख्रापालन हुँदैआएको छ । महिलाले घरमा पालेका खसी र बोका दसैंको मौका पारी बिक्री गरिएको उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडेँमगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दसैंको मुखमा यहाँका महिलाले झण्डै ५० लाखको खसीबोका बिक्री गर्नुभएको छ, दसैंपछि पनि बिक्री गर्ने योजना छ ।’
दसैंका लागि तयार गरिएको खसीबोका बिक्री गरेर कम्तीमा ५० हजारदेखि एक लाख ८० हजार रुपियाँसम्म आम्दानी गरेको महिलाहरू बताउँछन् । दसैंमा आफूले एक लाख ७१ हजारको खसीबोका बिक्री गरेको स्थानीय बाख्रापालक किसान दुर्गीमाया रानाले बताउनुभयो ।
पछिल्लो समय गाउँपालिकाबाट उत्पादनका आधारमा अनुदान दिन थालेपछि व्यावसायिक बाख्रापालनमा यहाँका महिला आकर्षित भएका छन् । गाउँपालिकाबाट खसी र बोकाको मासुमा प्रतिकिलो ५० रुपियाँ अनुदान पाएको उहाँले बताउनुभयो ।
दसैंको मुखमा रम्भा गाउँपालिकाको रानीबास, झर्लेङ्ग, कोटथर, भञ्ज्याङ्गथोक, बेलौजा, झोकेदी, सुरुमडाँडा, फोक्सिङ्गडाँडा, नम्टाहा, बोरोङ्गसे, गाबुडाँडा गाउँबाट खसीबोका बिक्री भएको बताएका छन् । दसैंमा जिल्लाभित्र र बाहिर ३१५ वटा खसीबोका बिक्री भएको सहकारी संस्थाका व्यवस्थापक पाडेमगरले बताउनुभयो ।
किसानलाई समूहमा आबद्ध बनाई खोर व्यवस्थापन, नश्ल सुधार, उन्नत जातको घाँस विकास, रोग तथा परजीवी नियन्त्रण कार्यलाई व्यवस्थापन गरेपछि व्यावसायिक बाख्रापालन सुधार हुँदैगएको गाउँपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !