प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।
सत्ता साझेदार एमालेलाई समेत बेइमानी गरी बजेट ल्याएकाले अब यो सरकार दुई–चार दिन समेत नचल्ने अध्यक्ष यादवले दाबी गरे । जसपा नेपाल कपिलवस्तुले तौलिहवामा राखेका पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उनले सो जिकिर गरेका हुन् ।
अहिलेको बजेटको बिषयमा ओलीले समेत असन्तुष्टि पोख्नुले पनि यो सरकारको आयु धेरै नभएको सङ्केत देखिएको उनको तर्क छ । ‘अहिलेको बजेट माओवादीले एकलौटी ढंगले ल्याएको छ , त्यसैले अब यो सरकार चाँडै धराशायी हुन्छ’ उनले भने । आफ्नो पार्टीलाई प्रचण्डले सरकार बचाउने नाममा फुटाएको यादवले आरोप लगाए ।
अहिले माओवादी पार्टी समेत फुट्ने चर्चा चलेको भन्दै उनले सिसाको घर भएकाले अरूको घरमा पत्थर हानेकाले यसको परिणाम चाँडै आउने उनले बताए । ‘अहिलेको बजेट पपुलिस्ट बजेट हो, माओवादीले एक्लै ल्याएको हो यसले तस्कर र धनीलाई मात्र पोस्ने काम गर्छ’ उनले भने । बजेटले विदेशी रिन झनै बढदै गएको र गरिबी झनै बढाउँदै गएको बताए ।































