नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोड्नुभएको छ । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उहाँले अनशन तोड्नुभएको हो ।
चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गर्नुभएको छ । सहमतिअनुसार आउँदो असोज दुई गतेदेखि काम तीव्र पार्ने, दशैँ अगाडि नै गोपीगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दशैँ लगत्तै त्यसक्षेत्रमा कालोपत्र शुरु गर्ने उल्लेख छ ।
साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ ।
सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइने भएको छ । प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलले पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।
गएको मङ्गलवारदेखि अध्यक्ष यादवको नेतृत्वमा रिले अनशन शुरु भएको थियो । २०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । स्थानीय बासिन्दले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
तपाईको प्रतिक्रिया !