कपिलबस्तु, असोज २ गते ।
कपिलवस्तुमा ११ औँ रािष्ट्रय परिवार योजना दिवसमा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
‘सुसूचीत छनौट सहीतको परिवार योजना सेवा ः प्रजनन स्वास्थ्य अधिकार प्राप्तीमा टेवा ’ भन्ने नारा सहीत कपिलवस्तु नगरपालिकाले नगर भित्र रहेका स्वास्थ्यकर्मीको सहभागीतमा अभिमुखीकरण गरेको हो ।
सो अवसरमा परिवार नियोजन सेवामा राम्रो र बढी सेवा प्रदान गरेकामा नगरपालिका वडा नम्बर ५ स्थित स्वास्थ्य चौकीलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले स्वास्थ्य चौकीका अहेब रमेश कुमार शर्मालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा मेरी स्टोप्स तौलिहवाका प्रमुख मनिराम पाण्डेयले परिवार नियोजनको सेवालाई सहज र सर्वसुलभ बनाउनु पर्ने बताए । उनले अस्थायी र स्थायी परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन लगायतका सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै बरिष्ठ अहेब उमा थापाले परिवार नियोजन सेवाले गर्दा नै अहिले नेपालको जन्मदर २ दशमलव १ प्रतिशतमा झरेको बताईन । अहिले पनि परिवार नियोजनका साधनका पहुच ५७ प्रतिशत मात्र रहेको र यसलाई बढाउदै जानु पर्ने उनले बताईन ।
अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन र मातृ मृत्यु दर अझै उच्च रहेकोले यसलाई नियन्त्रण गर्ने उत्तम उपाय भनेकै परिवार नियोजनको प्रभावकारी सेवा रहेको उनले बताईन ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गुप्ताले परिवार नियोजनको सेवा र पहुच बढाउन सचेतना सहीतको कार्यक्रम गर्नु पर्ने बताए । उनले यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधिकार सबैको रहेको बताए ।
तपाईको प्रतिक्रिया !