नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्रीमा अतिशी मर्लेना नियुक्त भएका छन्। उनले शनिबार मुख्यमन्त्री पदमा सपथ पनि लिएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अतिशीलाई दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले सपथ खुवाएका हुन्। उनले आजै मन्त्रिपरिषद् गठनसमेत गरेकी छन्। उनले कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतलाई मन्त्री बनाएकी हुन्। उनीहरूले पनि आजै सपथ लिए।
असोज १ गते आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। जेलबाट निस्किएका उनले दिल्लीका जनताले पुनः नजिताएसम्म आफू मुख्यमन्त्री नबन्ने घोषणासमेत गरेका थिए।
केजरिवालले राजीनामा दिएपछि आम आदमी पार्टी विधायक दलको बैठकले अतिशीलाई दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
आतिशीको कार्यकाल चार महिना हुनेछ । किनकी फेब्रुअरी २०२५ मा विधानसभा चुनाव हुनेछ । आम आदमी पार्टीले केजरीवाललाई नयाँ मुख्यमन्त्रीका रुपमा अघि सारिसकेको छ ।
उनी २०१३ देखि (राष्ट्रपति शासन लागू भएको समय बाहेक) दिल्लीको मूख्यमन्त्री थिए । तर पछिल्लो पटक मदिरासम्बन्धी नीति बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरे । करिव ६ महिना हिरासतमा रहेका अरविन्द केजरीवाल अदालतको आदेशमा छुटे । तर तिहाड जेलबाट छुटेको दुई दिनपछि उनले आफूमाथि झुटो आरोप लागकोले जनताको परीक्षामा जाने भन्दै राजीनामा दिने घोषणा गरे ।
तपाईको प्रतिक्रिया !