कपिलबस्तु । मैत्री बहुउद्देश्यीय सहकारी संस्था लि.को २३ औ वार्षिक साधारण सभा तथा दोस्रो एकाई सभा तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष शंकर प्रसाद गौतमले आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक प्रगति प्रतिबेदन, भावी कार्ययोजना, नीति तथा आ.व. ०८१।०८२ को निति, कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले सहकारीको संख्या बढिरहेपनि सहकारी विपन्न बस्तिहरुमा जान नसकेको भन्दै अबको दिनमा वास्तविक विपन्न वर्ग संग सहकारीले हातेमालो गर्नुपर्ने बताए । सहकारीले नाफा कमाउने उद्धेश्य मात्र लिन नहुने भन्दै सामाजिक रुपान्तरणमा भूमिका खेल्न उनले आग्रह गर्नु भयो । उहाँले हिजोका दिनमा केही सहकारीहरुबाट भएका गलत कार्यबाट सही र सत्य कार्य गर्ने सहकारीहरुलाई केही असर पर्न गएपनि सबै सहकारीहरु गलत हुँदैनन् भन्ने सोंच राख्न आवश्यक देखिएको बताए ।
वडाध्यक्ष रुद्रप्रकाश गैरे (प्रकाश) ले सहकारी संस्थाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई समेट्नुपर्ने बताए । सहकारीको दिगोपनालाई समाजबाट कसरी उकास्न सकिन्छ भन्ने बिषयमा शेयर सदस्यहरु जागरुक हुन जरुरी देखिएको बताए ।
प्रधान कार्यालय गुल्मी तम्घासमा रहेको मैत्री सहकारीले ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थामा १३ हजार ७ सय ३२ शेयर सदस्यहरु छन् । उक्त कार्यक्रममा कार्यसमितीका सदस्यहरु शेयर सदस्यहरु, बचतकर्ताहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
‘सहकारिता र उद्यमशिलताको विकास गरौं, आत्मनिर्भर र समृद्ध समाजको निर्माण गरौं’ भन्ने मूलनाराका साथ कपिलवस्तु एकाइ अध्यक्ष माया ज्ञवालीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
तपाईको प्रतिक्रिया !