रामपुर (पाल्पा), कात्तिक १५ गते । रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिँदै गर्दा अर्सा, चिनी रोटी, सेल रोटी र बटुकको माग बढेकाले परिकार बनाएर विक्री गर्न भ्याइनभ्याइ भएको हो ।
आलेले चाडपर्व र विशेष उत्सवका लागि मात्र नभै दैनिक रुपमा रोटीको परिकार तयार गर्दै आउनुभएको छ । रोटीका परिकार तयार गरी विक्री गर्दै आउनुभएका उहाँले तिहारका लागि रोटीको माग उच्च रहेको बताउनुभयो । ‘तीजदेखि नै रोटीको माग बढ्दै गएको थियो । तिहार नजिकिँदै गर्दा माग अझ बढेको छ,’ उहाँले भन्नुभयो ।
रोटीका परिकार बनाउनका लागि अहिले उहाँको परिवारका सदस्य तथा आफन्त गरी ७ जना निरन्तर खट्दै आउनुभएको छ । अन्य समय बढीमा ४ जनाले सहजै तयार गरेर माग पूरा गर्न सकिने भए पनि अहिले माग बढेकाले ७ जनालाई पनि काम गर्न भ्याइनभ्याइ भएको आले बताउनुहुन्छ । पाँच वर्ष अघि आमा घनीमायाले सुरुवात गर्नुभएको व्यावसाय पछिल्लो समय छोरा भागीरथले सम्हाल्दै आउनुभएको छ ।
तिहार नजिकिँदै जाँदा अहिले दैनिक २५ हजारभन्दा बढीको रोटीका परिकार विक्री हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य समयमा अर्सा रोटी दैनिक ५ हजार रुपियाँको विक्री हुँदै आएको थियो । तिहार संगै २० हजार भन्दा बढीको अर्सा रोटी विक्री हुन्छ । चिनी रोटी, सेल र बटुकको परिकार पाँच हजारसम्म विक्री गर्दै आएका छौं ।’ उहाँले उहाँको आगार्निक रोटी उद्योगमा अन्य रोटीका परिकार माग अनुसार र अर्सा रोटी नियमित रुपमा तयार हुने गर्दछ । सेल रोटी र बटुक छिट्टै बिग्रिने भएकाले माग अनुसार र अर्सा लामो समयसम्म रहने हुनाले दैनिक तयार गर्दै आएको उहाँले बताउनुभयो ।
रोटीका परिकारहरु स्थानीय रुपमै पाइने गेडागुडी, चामल, खुदोबाट उहाँहरुले तयार गर्दै आउनुभएको छ । देवीस्थानमा बनेको रोटीको परिकार किन्न पाल्पाको रामपुर मात्र नभै स्याङ्जा, तनहुँ, नवलपुरका विभिन्न स्थानबाट पुग्ने गर्दछन् । अर्सा रोटीको माग बुटवल, पोखरा लगायतका सहरबाट पनि आउने गरेको उहाँले बताउनुभयो । नजिकको ग्राहकहरुलाई होम डेलिभरीमार्फत माग अनुसारको रोटी उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । थोरै रोटीका परिकार बनाउन पनि धेरै मेहेनत गर्नुपर्ने भएकाले आलेले सञ्चालन गरेको व्यवसायले थप सहज भएको देवीस्थान पुग्ने उपभोक्ताहरु बताउँछन् ।
रोटीको व्यावसायमा विक्री भएको परिकारबाट ५० प्रतिशतसम्म नाफा गर्न सकिने उहाँ बताउनुहुन्छ । ३२ वर्षीय आले व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘रोटीको व्यवसाय हाम्रो आम्दानीको माध्यम बनेको छ । संगै अर्सा, चिनी रोटी, सेल रोटी र बटुकलगायतका मौलिक परिकार नयाँ पुस्तालाई पनि चिनाउन पाएका छौं । खुशी लागेको छ ।’ व्यावसायलाई नयाँ प्रविधिसँग जोडेर उद्योगको रुपमा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !