स्याङ्जा, कात्तिक १६ गते । भीरकोट नगरपालिकाले सुत्केरी भैँसी पोषण भत्ता कार्यक्रम ल्याएको छ । पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न, पशुको स्वास्थ्य सुधार र गाउँमै स्वस्थ दुध उत्पादनलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएको हो ।
यहाँ प्रत्येक सुत्केरी भैँसीका लागि कृषकलाई तीन हजार रुपियाँ पोषण भत्ता प्रदान गरिने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो । यस कार्यक्रमले स्वस्थ दुधको आपूर्ति बढाउने, ग्रामीण क्षेत्रमा स्वच्छ र पौष्टिक दुध उपभोक्तालाई प्रात्साहित गर्ने र निरोगी समाज निर्माण गर्ने लक्ष्य राखेको कर्माचार्यले बताउनुभयो ।
भत्ता प्राप्त गर्न कृषकले निवेदन, वडाको सिफारिस, टोल मुचुल्का, नागरिकताको फोटोकपी, सुत्केरी भैंसी पाडीको फोटो र बैङ्क खाताको चेकको प्रतिलिपी बुझाउनुपर्ने छ ।
अनुगमनका लागि नगरपालिकाले निरीक्षणको प्रावधान राखेको बताउदै कर्माचार्यले भत्ता दिइनु अघि भैँसीको वास्तविकता र अवस्था मूल्याङ्कन गरिने बताउनुभयो ।
यहाँ भैँसी पोषण भत्ता कार्यक्रमको लागि ४५० भन्दा धेरै आवेदन प्राप्त भएको नगरपालिका पशु शाखाले जनाएको छ । आर्थिक वर्ष ८१-८२ मा यस कार्यक्रमका लागि १० लाख रुपियाँको बजेट विनियोजन गरिएको छ ।
तपाईको प्रतिक्रिया !