परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
कपिलबस्तु, मंसिर ४ गते । कपिलबस्तुको मायादेवी र यशोधरा गाँउपालिकामा सञ्चालित सिमान्तकृत समुदायको न्याय सेवामा पहुचको लागि पैरवी– परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यशोधरा गाँउपालिकाका अध्यक्ष शिव दयाल तिवारी, उपाध्यक्ष गुन्जादेवी मौर्या, मायादेवी गाँउपालिकाका अध्यक्ष लिउद्दीन मुसलमान, मायादेवी गाँउपालिकाकी उपाध्यक्ष सरस्वती यादव, प्रमुख प्रशासकिय अधिकृत राम कृष्ण तेलि, सामाजिक विकास शाखाका अधिकृत बैतुल्लाह धुनिया, जिल्ला समन्वय अधिकारी जर्नदन अधिकारी वडाध्यक्ष लगायतका जनप्रतिनिधि र सरोकारवालासंग परियोजनाले गर्ने काम बारे जानकारी गराइएको हो ।
परियोजनाले स्थानीय न्याय प्रणाली र प्रक्रियाको बारेमा सीमान्तकृत र अति विपन्न समुदायहरूको बुझाइ स्तरलाई समृद्ध बनाउने, सीमान्तकृत र अति– सीमान्तकृत समुदायहरूलाई स्थानीय तहको न्याय सेवामा पहुच र सहजीकरणमा सहयोग गर्ने, स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धी र सहयोग गर्ने परियोजनाको कार्यक्रम संयोजक प्रभाकर चौहानले बताए ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय अधिकारीले स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको साझेदारीमा कार्य गर्न सके यहाँका नागरिकको जीवनस्तरमा थप सुधार ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेयले नेपालमा सिमान्तकृत समुदायहरूको न्याय सेवामा पहुँच सुनिश्चित गर्न “पैरवी परियोजना” सुरु भएको बताउनुभयो । परियोजनाले न्यायिक प्रक्रियामा समुदायको पहुँचलाई सहज बनाउनु, कानूनी सहायतामा वृद्धि गर्नु, र उनीहरूको अधिकार सुनिश्चित गर्न नीतिगत पैरवी गर्ने उहाँको भनाई छ ।
उक्त परियोजना यु एस ए आईडि, सिभिल सोसाईटि एण्ड मिडिया तथा एसिया फाउण्डेसनको आर्थिक एवम् प्रविधिक सहयोग र विकासशिल युवा क्लबको संयुक्त साझेदारीमा मायादेवी गाँउपालिकाको वडा नं. १,२,३ र ६ र यशोधरा गाँउपालिकाको वडा नं. १ र ३ मा सञ्चालन हुने छ ।
क्लबका अध्यक्ष बाल केश मुराउको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धिरज चौहानले गरेका थिए ।































