कपिलवस्तुकाे शुद्धोधन -१ मा त्रिपक्षीय भिडन्त
कपिलवस्तुको सुद्धोदन गाउँपालिका वडा नम्बर-१ मा मंसिर १६ गते हुने उप-निर्वाचनमा ३० कर्मचारी र २ सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
मंसिर १६ गते हुने वडाध्यक्षको निर्वाचनमा ३ स्थानमा ६ वटा मतदान केन्द्रमा ३० कर्मचारी परिचालन गरिने सहायक निर्वाचन अधिकृत अमर ओलीले बताए। प्रत्येक निर्वाचन केन्द्रमा ५ जना कर्मचारी र एक जना स्वयंसेवक खटिने उनले बताए।
सहायक मतदान अधिकृत ६ जना, मतदान अधिकृत ६ जना, सहायक मतदान अधिकृत १२, ६ जना कार्यालय कार्यालय सहयोगी खटिने छन्।
सहायक मतदान अधिकृत र मतदान अधिकृतलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक तालिम समेत दिइएको छ। सहायक प्रजिअ परमानन्द घिमिरे र जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले तालिममा सहजीकरण गरेका थिए। कर्मचारीहरू बुधवार सम्म मतदान केन्द्रमा पुगी सक्ने ओलीले बताए।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न २ सय बढी सुरक्षाकर्मी परिचालन हुने प्रजिअ विश्व प्रकाश अर्यालले बताए। उप निर्वाचनमा ३ घेरामा सुरक्षाकर्मी परिचालन गरिने उनले बताए। पहिलो घेरामा नेपाली सेना, दोस्रो र तेस्रो घेरामा नेपाल र सशस्त्र प्रहरीको टोली परिचालन हुनेछ। नेपाल प्रहरीका १ सय ६४, सशस्त्र प्रहरी २९ जना, नेपाली सेना आवश्यकता अनुसार र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू समेत परिचालन हुनेछ। निर्वाचनमा मोबाइल टोली समेत खटिने छ।
निर्वाचनको दिन मंसिर १६ गते वडामा मतदान केन्द्रमा खटिने कर्मचारी, मतदाता, उम्मेदवार र अनुमानित लिएका सवारी साधन बाहेक अरूलाई प्रवेश निषेध गरिएको प्रजिअ अर्यालले बताए । निर्वाचनमा १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार छन्।
मंसिर १३ गते राति १२ बजे पछि मौन अवधि सुरु हुने भएकाले प्रचार प्रसारमा तीव्र रूपमा लागेका छन्। निर्वाचनमा कांग्रेसका दिनेश कुमार यादव, एमालेको मोहोम्द ताहिर मुसलमान र जनतम पार्टीका सिताराम पटेल कुर्मी बिच त्रिपक्षीय भिडन्त हुने मतदाताहरू बताउँछन्।
यस पटकको निर्वाचनमा रास्वपाका अबधेश कुमार चौधरी समेत उम्मेदवार छन्। सो वडामा कुल ४ हजार ८६८ मतदाता छन्। वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन हुन लागेको हो। गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२ एमालेका अब्दुल मोजित खाले ८ सय ८९ र जनमतका सिताराम पटेल कुर्मीले ५ सय ४७ मत ल्याएका थिए।































