ओखलढुंगा ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा एमालेका गंगा तामाङ विजयी भएका छन् ।

आइतबार भएको उप–निर्वाचनमा एमालेका तामाङले ३९९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका घनश्याम दाहालले १७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले ३, जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत पाएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिएका छन् । जम्मा १२ मत भने बदर भएको उनले बताए ।

कुल १३ सय २५ मतदातामध्ये ७६८ जनाले मतदान गरेका थिए । जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध चयन भएका छन् । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ–५ का वडा अध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकाले उपनिर्वाचन भएको थियो ।