कपिलबस्तु, मंसिर १८ गते । कपिलवस्तु नगरपालिकामा सातौ नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता बुद्ध पद्म माविको खेलमैदानमा मंगलबारदेखि शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याल नगर उप प्रमुख सुनिता गुप्ताले संयुक्त रुपमा गर्नु भएको छ ।
सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले खेलकुदले नगर र जिल्लालाई समेत देशमा पहिचान बनाउनु पर्ने बताए । उनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । प्रादेशिक तथा राष्ट्रियस्तरको प्रतियोगितामा समेत यहाँका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र नगरले समेत उपयुक्त ब्यवस्थापन गर्ने उनले घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले खेलकुदको माध्यमबाट शरिरीक स्फूर्ति बढाउनुका साथै चौतर्फि उपमा बढाउन समेत सहयोगी सिद्ध रहने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौड, कराँते, तेक्ववान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका २२ विद्यालयका बिद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
१८ गतेदेखि सुरु भएको प्रतियोगिता २१ गतेसम्म संचालन हुने प्रतियोगिता संयोजक पदमराज श्रेष्ठले बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद भन्ने मुल नारा सहित प्रतियोगिता संचालन गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, १२ वटै वडाका वडाध्यक्षहरु, शिक्षा तथा खेलकुद शाखाका कर्मचारी, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !