कपिलबस्तु, मंसिर २२ गते । कपिलबस्तुको तौलिहवा भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाईकल एक आपसमा ठोकिदा दुई को मृत्यु ११ घाइते भएका छन् ।
कपिलवस्तु शुद्धोधन गाँउपालिका ३ गुलरी स्थित तौलिहवा–भैरहवा सडक खण्डमा भैरहवादेखि तौलिहवा तर्फ आउदै गरेको लु २ ख २३१ नम्बरको बस र बिपरित दिशा तर्फ आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कार र लु.३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरी निरिक्षक माधव विश्वकर्माले बताउनुभयो ।
कारमा सवार प्युठान पकाला ७ का ४३ बर्षिय निम बहादुर सारुको मेडिकल कलेज भैरहवामा र कार चालक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका ४ हरीहरपुर का ४५ वर्षिय ईन्द्र बहादुर सार्कीको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
गम्भिर घाइते भएका चार जना मध्ये तिनजनाको सिद्धार्थ नगर सिटि हस्पिटल भैरहवा र १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ७ जनाको लबनी स्थित अल्सेक अस्पताल उपचार भइरहेको छ ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !