लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । मुस्लिम आयोगले आज दाङको लमहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले ‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध विषयक सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम’ को उद्घाटन गर्दै सो समुदायको सशक्तीकरण र जागरणका लागि चलाइने हरेक अभियानलाई प्रदेश सरकारले साथ दिने बताए ।
प्रदेश सरकारले उच्च शिक्षामा सो समुदायका किशोरीहरूलाई पूर्ण छात्रवृत्ति दिइरहेको बताउँदै मुस्लिम समुदायका किशोरीहरूलाई शिक्षामा ल्याउन सबैले जोड दिनुपर्ने बताए । सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा ७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको समेत उनले बताए ।
लुम्बिनी प्रदेशका तराईका जिल्लामा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या जटिल रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सामाजिक मूल्य मान्यताहरूमा समेत परिवर्तन ल्याउन जरुरी रहेको बताए ।
‘मुस्लिम समुदायमा २० वर्ष नपुग्दै छोरीहरूको विवाह गर्ने प्रवृत्ति छ । यसलाई रोक्न जरुरी रहेको उनको भनाई छ । मुस्लिम आयोगका अध्यक्ष मियाँले मुस्लिम समुदायको सहभागिता र सशिक्तकरणका लागि तीन तहकै सरकारले विशेष कार्यक्रम प्याकेज निर्माण गरेर लागू गर्न आवश्यक रहेको बताए ।
शिक्षा, स्वास्थ्य, तथा रोजगारी सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्ने र राज्यले प्रदान गर्ने सबै खाले अवसर सुनिश्चित गर्नुपर्ने माग उनले गरे ।
तपाईको प्रतिक्रिया !