कपिलवस्तु माघ १० गते ।मायादेवी गाउँपालिका कपिलबस्तु र नेपाल रेडक्रस सोसाइटी, रुपन्देही अन्तर्गतको रक्त सञ्चार सेवा केन्द्र बुटवलबीच निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार, मायादेवी गाउँपालिकाका बासिन्दा र पालिकाका कर्मचारीहरूले अब निःशुल्क रुपमा रगत प्राप्त गर्नेछन्।
सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष वालिउद्दिन खान, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, र नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र बुटवलका सभापति दीपक क्षेत्री न्यौपानेको सहभागिता थियो।
मायादेवी गाउँपालिकाका बासिन्दा र पालिका कर्मचारीहरूलाई रगतको सहज र निःशुल्क उपलब्धता, गाउँपालिकामा रगत संकलन र वितरणको व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले सम्झौता गरिएको हो।
यस सम्झौताले पालिकाभित्रको स्वास्थ्य सेवा पहुँचलाई सुधार गर्ने अपेक्षा गरिएको अध्यक्ष मुसलमानले बताउनुभयो। माघ ९ गतेदेखि लागू भएको यो सेवा सम्बन्धित सबै बासिन्दाका लागि लाभदायी हुने उहाँको विश्वास छ।
यस सेवाले आकस्मिक अवस्थामा रगतको अभाव हटाउन र जीवन रक्षा गर्न ठूलो योगदान दिनेछ।
तपाईको प्रतिक्रिया !