कपिलवस्तु, माघ । नेपाल अर्वुद रोग निवारण संस्था कपिलवस्तु शाखाले आर्थिक रूपमा विपन्न बालबालिकालाई लक्षित गर्दै न्यानो कपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
कपिलवस्तु नगरपालिका–३, जमोहरा स्थित श्री राधाचन्द्र आधारभूत विद्यालयमा अध्ययनरत करिब ४७ जना बालबालिकालाई ज्याकेट तथा विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको हो । शीतलहरको समयमा विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले यो सहयोग प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष राजेश ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रोयल थाई मोनाष्ट्री लुम्बिनीका भिक्षु सुपोत भन्तेले बालबालिकालाई न्यानो कपडा तथा स्वास्थ्य सामग्री वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने यस्ता कार्यक्रमको प्रशंसा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक गीता खनालले विद्यार्थीहरू चिसो मौसममा समेत पातलो कपडा लगाएर विद्यालय आउन बाध्य भएको उल्लेख गर्दै प्राप्त सहयोगले उनीहरूलाई ठूलो राहत पुगेको बताउनुभयो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले आयोजक संस्थालाई धन्यवाद दिँदै यस्ता समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजसेवी श्रीराजन खड्का, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक गीता खनालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा इन्दिरा देवकोटाले संचालन गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया !