कपिलवस्तु माघ २८ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कपिलवस्तु नगरपालिका वडा नं. ७, धरमपनिया स्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा गरिएको हो ।
सो कार्यक्रममा कक्षा ८, ९, र १० मा अध्ययनरत ७० जना विद्यार्थीहरू, शिक्षक-शिक्षिका लगायतको सहभागिता रहेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की ले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्याका कारणहरू, रोकथामका उपायहरू तथा कानुनी व्यवस्थाहरू सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा मानसिक स्वास्थ्य, पारिवारिक वातावरण, सामाजिक समर्थन तथा आत्महत्या रोकथामका रणनीतिहरू बारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। सहभागीहरूले कार्यक्रममा देखाएको चासो र सहभागिताबाट आयोजकहरू उत्साहित भएका छन्।
यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा विभिन्न विद्यालय तथा समुदायमा निरन्तर सञ्चालन गरिनेछन्, जसले आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ।