कपिलबस्तु, फागुन ५ गते । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले १ सय ३२ जना कृषकलाई स्प्रेटंकी वितरण गरेको छ । कृषि कार्यमा विषादी छर्न सजिलो र छिटो होस् भन्ने उद्देश्यले इलेक्ट्रिक स्प्रेटंकी वितरण गरिएको हो ।
मायादेवी गाँउपालिका वडा नं. ३ को ८० प्रतिशत लगानी र कृषकहरूको २० प्रतिशत लगानीमा स्प्रेटंकी वितरण गरिएको पशु प्रविधिक युवराज घिमिरेले जानकारी दिनु भएको छ । समाजसेवी राजेन्द्र यादवले कृषकहरूको लागि विषादी छर्न स्प्रेटंकी निकै उपयोगी हुने बताउनु भएको छ ।
मायादेवी गाउँपालिका वडा नम्बर ३ फुलिकाले कृषकहरूलाई उत्पादन वृद्धि गराउन र आर्थिक स्तर उकास्न विभिन्न सहयोगात्मक कार्यक्रमहरू गर्दै आएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । उनले वडामा सिँचाइका लागि विभिन्न तटबन्ध निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभएको छ ।
स्प्रेटंकी पाएपछि कृषकहरु खुशी भएका थिए । कार्यक्रममा वडा सदस्य ईन्दु कुमारी थारु, शिवकुमारी रैदास, रामबृक्ष यादव, वडा सचिव नन्दलाल कोहार, समाजसेवी राजेन्द्र यादव, ऋषीराम रैदास, सलाहुद्दीन मुसलमान, शैलेन्द्र कुर्मी लगायतको सहभागिता रहेको थियो ।