कपिवस्तु, फागुन ६ गते। । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बृहत यौनिकता शिक्षा सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ र यु.एन.एफ.पी.ए.को सहयोगमा सञ्चालित तलिममा जिल्लाका विभिन्न पालिकाका किशोर-किशोरी मैत्री सूचना केन्द्र रहेको विद्यालय छनोट गरी ७, ८ र ९ कक्षामा अध्ययनरत १० विद्यालयका २६ विद्यार्थी तथा ४ शिक्षकको सहभागिता रहेको थियो।

नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका सभापति विकास पोख्रेलका अनुसार, किशोर-किशोरीलाई यौनिकता शिक्षाको महत्वबारे जागरूक गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। तालिमको सहजीकरण नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले गरेका थिए। फागुन ४ गतेदेखि सुरु भएको तालिम यौन, यौनिकता र लैङ्गिकता जस्ता विषयवस्तुहरूमा केन्द्रित रहेको थियो।
तालिमका मुख्य अवधारणाहरू तालिमका क्रममा बृहत् यौनिकता शिक्षाका आठ प्रमुख अवधारणा – सम्बन्ध, लैङ्गिकता बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका सीप, मानव शरीर र विकास, यौनिकता र यौन व्यवहार, यौनिक तथा प्रजनन स्वास्थ्य मूल्य, अधिकार, संस्कृति र यौनिकता – बारेमा जानकारी प्रदान गरिएको थियो।

मुख्य प्रशिक्षक न्यौपानेका अनुसार, यस किसिमको तालिमले किशोर-किशोरीलाई आफ्नो शरीर, यौन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन, निर्णय क्षमता बढाउन, स्वस्थकर यौनिक जीवन बिताउन, एचआइभी, यौन संक्रमण, अनिच्छित गर्भधारण, हिंसायुक्त यौनिक व्यवहार तथा यौनिक दुर्व्यवहार रोक्न मद्दत पुग्ने बताउनुभयो।।
व्यावहारिक र प्रभावकारी सिकाइ अर्का प्रशिक्षक बसन्त खनालका अनुसार, तालिममा बृहत् यौनिकता शिक्षा र यसको औचित्य, लैङ्गिकताको समझ, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयहरूमा विस्तृत छलफल गरिएको थियो। साथै, स्वास्थ्य र निरोगिताका लागि आवश्यक सीपहरू समेत सिकाइएको थियो।

तालिममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले कार्यक्रम व्यवहारिक, उपयोगी र प्रभावकारी भएको अनुभव साझा गरे। उनीहरूले तालिमले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा, समस्या तथा गुनासोलाई सम्बोधन गर्न मद्दत गरेको बताउँदै विद्यालय फर्केपछि सिकेका कुरा आफ्ना साथीहरूलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गरे।

तालिमका समापन कार्यक्रममा नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाका प्रमुख बसन्त खनाल र मुख्य प्रशिक्षक शोभाकान्त न्यौपानेले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।