महिला, बालबालिका तथा जेष्ठ नागरिक हिंसा नियन्त्रण सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया
कपिलवस्तु, फागुन २३। इलाका प्रहरी कार्यालय हर्दौना कपिलवस्तुको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध तथा हिंसा नियन्त्रणसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला कपिलवस्तु, महाराजगंज नगरपालिका–१०, अल्गीस्थित स्थानीय समुदायको सहभागितामा आयोजित कार्यक्रममा करिब ६०–७० जना स्थानीय व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा इलाका प्रहरी कार्यालय हर्दौनामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (स.न.नि.) मञ्जु कुमारी रानाले अपराध तथा हिंसा नियन्त्रणका उपायबारे जानकारी दिँदै जनचेतनामूलक अन्तरक्रिया सञ्चालन गर्नुभयो।
उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसाजन्य गतिविधिहरूको रोकथामका लागि प्रहरी र समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। साथै, हिंसा तथा अपराधका घटना भएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै कानूनी प्रक्रियाबारे समेत जानकारी गराउनुभयो।
स्थानीय बासिन्दाहरूले कार्यक्रममा आफ्ना अनुभव तथा चिन्ताहरू व्यक्त गर्दै प्रहरी प्रशासनसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने इलाका प्रहरी कार्यालय हर्दौनाले जनाएको छ।
































