कपिलवस्तु, फागुन २४ – ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मायादेवी गाउँपालिका वडा नं. २, ३, र ४ मा विविध कार्यक्रम गरी दिवस मनाइएको छ। महिला अधिकार, समानता, तथा सशक्तिकरणका विषयमा सचेतना फैलाउने उद्देश्यसहित विभिन्न अन्तरक्रिया तथा प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो।

वडा नं. २ मा अन्तरक्रिया कार्यक्रम

लुम्बिनी युवा समाजको आयोजनामा, मायादेवी वडा नं. २ कार्यालयको समन्वय र दलित सामाजिक विकास केन्द्रको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा महिलाहरूको हक-अधिकार, बालविवाह, दाइजो प्रथा, र बालबालिकासम्बन्धी विषयमा छलफल गरिएको थियो।

सामाजिक अभियन्ता फैजल खान, पकडी इलाका प्रहरी कार्यालयका असई आर. बी. बेल्दार, समाजसेवी युवा बिन्देशरी यादव, र दलित सामाजिक विकास केन्द्रको सीवाईसीसी परियोजनाका संयोजक जितेन्द्र चौधरी अतिथि रहनु भएको थियो। कार्यक्रम क्लबकी सुनिता कोहारले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता मोमिता थारुले गर्नुभएको थियो। जितेन्द्र चौधरीले अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुको उद्देश्य, यसको इतिहास, र नेपालमा कहिलेदेखि मनाउन थालिएको विषयमा स्पष्ट पार्नुभएको थियो।

वडा नं. ४ मा वक्तृत्वकला तथा प्रतियोगिता कार्यक्रम

जनकल्याण युवा क्लबको आयोजनामा, मायादेवी वडा नं. ४ कार्यालयको समन्वय तथा दलित सामाजिक विकास केन्द्र, यूनाइटेड मिशन टु नेपाल (LCP MDT) को आर्थिक सहयोगमा वडास्तरीय वक्तृत्वकला तथा कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको थियो।

कार्यक्रममा आत्मनिर्भर महिला समूहहरूबीच प्रतिस्पर्धा गराइयो। कार्यक्रममा मायादेवी वडा नं. ४ की महिला सदस्य सर्ववती पासी अध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथि जनकल्याण युवा क्लबका अध्यक्ष राजकुमार रैदास हुनुहुन्थ्यो। विशेष अतिथि हृदय राम यादव तथा अन्य अतिथिहरूको समेत सहभागिता रहेको थियो।

यस प्रकारका कार्यक्रमहरूले महिलाहरूलाई आफ्नो अधिकारप्रति सचेत गराउने तथा समाजमा व्याप्त विकृतिहरूको अन्त्य गर्न योगदान पुर्‍याउने आयोजकहरूले बताएका छन्।