अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सचेतना मुलक गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम
यशोधरा गाउँपालिका-२, भडेहरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सचेतनामूलक गीत प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमति पासिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यशोधरा गाउँपालिकाकी उपाध्यक्ष गुनजा देवी मौर्या प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर १, २, ३ का वडाध्यक्षहरू विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशेष अतिथिहरूले मैनबत्ती बालेर गर्नुभएको थियो। कार्यक्रममा ३२ जना महिलाहरूले सचेतनामूलक गीत प्रस्तुत गरेका थिए। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो। प्रथम स्थान प्राप्त गर्नेलाई कुकर, दोस्रो स्थानलाई थर्मस, तेस्रो स्थानलाई इलेक्ट्रिक जग तथा सहभागिता जनाएका सबैलाई सान्त्वना स्वरूप थाली र प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा जीवन सुधार परियोजनामा आबद्ध १८ जना महिलाहरू, जो स्थानीय चुनावमा भाग लिएका थिए, साथै विद्यालय व्यवस्थापन समितिमा संलग्न १५ जना महिलासहित ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
वडा नम्बर १ का वडाध्यक्ष अब्दुल कय्युमले बाल विवाह, दहेज प्रथा र महिला हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा जोड दिनुभएको थियो। वडा नम्बर २ का वडाध्यक्ष मनोज चौबे, वडा नम्बर ३ की वडा अध्यक्ष सरिता त्रिपाठीले पनि महिला सशक्तीकरणबारे आफ्ना धारणा राख्नुभएको थियो।
प्रमुख अतिथि गुन्जा देवी मौर्याले महिलाहरूको हक, अधिकार र सामाजिक न्यायको पक्षमा एकजुट हुनुपर्ने बताउँदै यस्ता कार्यक्रमले महिलाहरूमा जागरूकता ल्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन अध्यक्ष सुरजमति पासिले गर्नुभएको थियो भने सञ्चालन जीवन सुधार परियोजनाकी सामुदायिक परिचालक माया यादवले गर्नुभएको थियो।































