६४ लाख बढी रुपियाँको अवैध सामान बरामद
कपिलवस्तु, चैत ५ गते । कपिलवस्तुको नेपाल–भारत सीमाबाट एक महिनामा ६४ लाख बढीका राजस्व छलेर ल्याएका सामग्री बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुको टोलीले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्दा विभिन्न अवैध सामग्री पक्राउ परेको हो ।
२८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले फागुनबाट सुरु गरिएको विशेष अनुगमनले राजस्व छलगरी ल्याएका सामान बरामद गरिएको बताउनुभयो ।
सीमा क्षेत्रबाट नेपाल भित्र्याउन ल्याइएका कपडा, घर निर्माणका सामग्री, इलेक्ट्रोनिक तथा इलेकट्रिकल सामग्री, कस्मेटिक वस्तुहरू, सुर्तीजन्य पदार्थ, मोबाइलका पार्टस्, औषधी, कुखुरा, माछा तथा वन पैदावार लगायतका सामग्री बरामद गरिएको कार्यालयका पदाधिकारीले जनाएको छ ।
बरामद गरिएका सामग्रीहरूको अनुमानित मूल्य ६४ लाख ३३ हजार ८ सय ६२ रहेको छ । बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार तथा सम्बन्धित कार्यालयलाई बुझाइएको छ ।































