राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा उनको जन्मस्थानको एक क्षेत्रलाई ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय गरिएको छ।

मर्स्याङ्दी गाउँपालिका-९ खुदी पुल वारीको क्षेत्रलाई उनको नामबाट नामाकरण गर्न लागिएको हो।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सावित्राको योगदानलाई सम्मान गर्न कार्यपालिका बैठकमा सर्वसम्मत निर्णय गरिएको जानकारी दिए। उनका अनुसार, सावित्राको फोटोसहितको होडिङ बोर्ड राख्दै औपचारिक रूपमा ‘साम्बा चोक’ नामकरण गरिनेछ।

यो क्षेत्र अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङ जाने मुख्य मार्ग मर्स्याङ्दीको प्रसिद्ध खुदीबजार क्षेत्रमा अवस्थित छ। गाउँपालिकाले यो नामकरणले सावित्राको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

सन् २०१४ देखि नेपाली राष्ट्रिय टोलीका लागि खेल्दै आएकी २७ वर्षीया सावित्रा अहिलेसम्म ५३ खेलमा सर्वाधिक ५७ गोल गरिसकेकी छिन्।

उनले माल्दिभ्स, भारत र इजरायलमा व्यवसायिक फुटबल खेलेकी छिन् भने हाल फ्रान्सेली क्लब एन अभान्ट ग्वेङगाम्पबाट व्यवसायिक फुटबल खेलिरहेकी छिन्।