तौलिहवा(कपिलबस्तु), चैत ८ गते । यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुले सिमानाका कृष्णनगरमा अस्थायी(पटके) इजाजत पत्र सेवा सुरु गरेको छ । यात्रुहरुको सहजताका लागि कृष्णनगर नगरपालिका वडा नं. २ पुरानो नगरपालिकाको भवनमा पटके सेवा सुरु गरेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय कपिलबस्तुका प्रमुख गोविन्द चौधरीका अनुसार नेपालमा आउने भारतिय सवारी सधानहरुका लागि पटके बाटो इजाजतपत्र वितरण गर्न सहज हुने बताउनुभयो । सीमावर्ती क्षेत्रमा यातायात सेवा सहज बनाउन यो सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “कृष्णनगर नाका निकै व्यस्त नाका हो । सीमाक्षेत्रमा सवारी साधनको आवागमन व्यवस्थित गर्न पटके शाखा आवश्यक देखिएको थियो ।”
यातायात सेवा कार्यालय कपिलबस्तुले सञ्चालनमा ल्याएको यो सेवा यात्रु तथा सवारी चालकहरूको समय र श्रम बचत गर्ने कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो । सीमाक्षेत्रमा रहेका स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुहरूका लागि यो महत्वपूर्ण सेवा बन्ने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो “यसले नेपाल र भारतबीच सञ्चालन हुने सवारी साधनहरूको अस्थायी इजाजत पत्र लिनका लागि यात्रुहरूलाई टाढा जानुपर्ने झन्झट हटाउने छ ।”
विशेष काम गरी कुनै सार्वजनिक सवारी साधनलाई बाटो इजाजतपत्रमा लेखिएको बाटो बाहेक अन्य कुनै बाटोमा सवारी चलाउनु परेमा पटके बाटो इजाजतपत्र लिनुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया !