कपिलवस्तु, चैत ८ गते । मानसिक स्वास्थ्यसम्बन्धी समाचार प्रकाशन गर्दा अपनाउनुपर्ने संवेदनशीलता र जिम्मेवारीबारे स्थानीय सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित मानसिक स्वास्थ्य परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
“विभेद रहित समतामूलक समाज“ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बरिष्ठ मनोविद् बिनोद पौडेल र मनोविद् सफल सापकोटाले मानसिक स्वास्थ्यसम्बन्धी समाचार संकलन र प्रकाशन गर्दा ध्यान दिनुपर्ने पक्षहरूबारे जानकारी गराएका थिए । उनीहरूले आत्महत्या तथा मानसिक स्वास्थ्य समस्यासम्बन्धी समाचार रिपोर्टिङ गर्दा संवेदनशीलता अपनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डिलाराम भुसालले प्राप्त ज्ञानलाई आफ्नो पत्रकारितामा लागू गर्न सञ्चारकर्मीहरुलाई अनुरोध समेत गर्नु भएको छ । युएम एनका टिम लिडर रूपकुमार बिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा मानसिक स्वास्थ्य परियोजनाकी कार्यक्रम संयोजक निर्मला सिंहले यो कार्यक्रम कपिलबस्तुको यशोधरा र मायादेवी गाँउपालिकाको आठ वटै वडामा विगत ३ वर्ष देखि सञ्चालनमा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया !