नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चयन प्रक्रिया अघि बढेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन गरिएको समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन्।
हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ गते सकिँदैछ। उनको कार्यकाल सकिनै लागेसँगै नयाँ गभर्नर नियुक्तिको तयारीस्वरूप सरकारले सिफारिस समिति गठन गरेको हो।
गभर्नर नियुक्तिका लागि आन्तरिक दौडधुप तीव्र बनेको बताइएको छ। सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ। समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ।
तपाईको प्रतिक्रिया !