दुई फरक ठाउँमा आगलागी हुँदा साढे १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट
कपिलवस्तुका दुई फरक ठाउँमा आगलागी हुँदा साढे १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
विजयनगर गाउँपालिका वडा नम्बर ६ चापागाउँ र शुद्धोदन गाउँपालिका वडा नम्बर ४ महादेवको गहुँखेतीमा भएको आगलागीले यस्तो क्षति भएको हो। प्रहरीका अनुसार चापागाउँको गौतमबुद्ध साझेदारी वनबाट आगो सुरु भएको थियो।
हावाहुरीले फैलिएको आगोले स्थानीय कमला कोरी, रामजानकी कोरी, रामप्रसाद कोरी र चिन्नु मुराउको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। त्यस्तै, धनीराम कोरी, विजय कोरी, फोटु बढई र घिराउ कोरीको फुसको गोठ पनि जलेर खरानी भएको छ।
आगलागीले डेढ बिघा गहुँबाली पूरै नष्ट गरेको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको छ। चापागाउँको आगलागीबाट १२ लाख ६ हजारभन्दा बढीको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।
यस्तै, शुद्धोदन गाउँपालिका वडा नम्बर ५ देवपुरको ४ बिघा गहुँखेतीमा भएको आगलागीले ३ लाख ६० हजारको क्षति भएको छ। सोही पालिकाको वडा नम्बर ४ महादेवमा तिलकराम यादव र जगराम कहारको ४ बिघा गहुँखेतीमा आगो लाग्दा २२ कृषकको ९० क्विन्टलभन्दा बढी गहुँ जलेर नष्ट भएको छ। आगलागीको कारण अझै खुलेको छैन।
कपिलवस्तु नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि डेढ घन्टामा आगो नियन्त्रणमा आएको छ। यसअघि ३ दिन पहिले सोही पालिकाको वडा नम्बर ३ ठूलो सिहयिनामा गहुँखेतमा आगलागी हुँदा २ सय क्विन्टल गहुँ जलेर ८ लाख २५ हजारको क्षति भएको थियो।
त्यस्तै, मायादेवी गाउँपालिका वडा नम्बर १ मेम्रौटीमा कम्बाइनले गहुँ काटेपछि खेतमा रहेको ठुटामा पनि आगो लागेको छ। दमकलले त्यहाँको आगो नियन्त्रणमा लिइसकेको छ।































