नेटुवा समुदायका व्यक्तिहरुलाई सर्प उद्धार सम्बन्धि सिप विकास सम्बन्धि तालिम
कपिलबस्तु, चैत २५ गते । कपिलबस्तुमा बसोबास गर्ने नेटुवा समुदायहरुको परम्परागत सिपलाई व्यवसायीक बनाउन सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको छ । जिल्लाको मायादेवी, यशोधरा र शुद्धोधन गाँउपालिकामा रहेका नेटुवा समुदायका व्यक्तिहरुलाई तिन दिने सर्प उद्धार सम्बन्धि सीप विकास तालिम प्रदान गरिएको हो ।
गाँउघरमा निस्केको सर्पलाई उद्धार गर्न जांदा पहिला आफु सुरक्षित रहेर उद्धार गर्ने सिप बारे जानकारी भएको सहभागि राज कुमार नेटुवाले बताउनुभयो । सर्पको उद्दारमा खटिदै आएका राजकुमारले नेपालमा पाइने सर्पका प्रजाति, सर्पका विशेषता, बिशालु सर्पको पहिचान र उद्दारका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक सुनिल सापकोटाले कपिलबस्तुमा बसोबास गर्ने नेटुवा समुदायका व्यक्तिहरुलाई सर्प र सर्पदंश सम्बन्धि प्रशिक्षण दिइएको बताउनुभभयो । उहाँले भन्नुभयो “नेटुवा समुदाय परम्परागत रुपमा सर्प संग निकट रहेपनि यसलाई व्यवसायीक रुपमा प्रयोग गर्न प्रोत्साहन, उपाय लगायतको विषयमा जानकारी प्रदान गरिएको छ ।” नेटुवा समुदायले जानेको सिपहरुलाई कसरी पेशासंग जोड्न सकिन्छ, कसरी कमाईसंग जोड्नका लागि तालिम प्रदान गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा फरवार्ड नेपालका उद्यम विकास अधिकृत झलक थापाले नेटुवा समुदायका परम्परागत सिपलाई व्यवसायीक बनाउने उद्देश्यका साथ सर्प उद्धार सम्बन्धि सीप विकास तालिम दिइएको बताउनुभयो । भएको परम्परागत सिपलाई व्यवसायीक बनाउनका लागि उहाँहरुको माग अनुसार सो तालिम प्रदान गरिएको अधिकृत थापाको भनाई छ । साथै उहाँहरुसंग भएको सिपहरुलाई कानुनी र आधुनिक रुपमा विकास गर्न उद्धार सम्बन्धि सिप प्रदान गरिएको बताउनुभयो ।
डब्लु एच एचका प्राविधिक संयोजक उत्तम शर्माले नेपालमा करिब तिन हजार मानिस सर्पको टोकाईका कारण मृत्यु हुने गरेको बताउनुभयो । कम आयस्रोत भएको सामुदायसंग काम गरेको यो सुरुवाती कार्यक्रम रहेको उहाँको भनाई छ । उहाँले दिइएको सिपलाई सहि तरिकाले सदुपायोग गरी आय आर्जनमा बृद्धि गर्नु पर्ने बताउनुभयो ।
सो अवसरमा मायादेवी गाँउपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले सिप सिकेर मात्रै हुदैन त्यसलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सिकेको सिपलाई सहि तरिकाले उपयोग गरियो भने ज्यान जाने जोखिम पनि कम हुने छ ।”
उद्धार गरिएको सर्पहरुलाई पर्यटन, अनुसन्धान लगायतको आम्दानीको स्रोतहरुसंग जोड्न सकिने छ । वि एम जेड तथा डब्लु एच एचको आर्थिक तथा प्राविधिक सहयोग एवम् फरवार्ड नेपाल र कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रद्वारा सञ्चालित सुधारिएको खाद्य प्राणाली परियोजना अन्र्तगत प्रदान गरिएको सिप विकास तालिममा एक जना महिला सहित २० जना नेटुवा समुदायको व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेटुवा विकास केन्द्र कपिलबस्तुका अध्यक्ष नेतराम नेटुवा लगायतले आ आफ्नो धारणा राखेका थिए ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













