कपिलवस्तु, चैत ३० गते । कपिलवस्तुको तौलिहवा स्थित नारी शील्पकला केन्द्रलाई कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले ७ वटा सिलाई मेशीन प्रदान गरेको छ । केन्द्रको माग अनुसार वडाले सोनी कम्पनीको ७ सिलाई मेशीन प्रदान गरेको हो ।
सिलाई मेशीन वडा अध्यक्ष मोहम्द जाहिद खाँले केन्द्रका उपाध्यक्ष जुनु शाहीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा वडाध्यक्ष खाँले बिगत ४ दशक बढी समय देखि तौलिहवा क्षेत्रमा केन्द्रले महिलाहरुलाई बिभिन्न सीपमुलक तालिम दिदै आयआर्जनमा अग्रसर गराएको बताए । उनले यस भेगका बिपन्न मधेसी, मुस्लिम र हिंसा पीडीत महिलाहरुलाई समेत तालिम दिई आयआर्जनमा समेत आग्रसर गराउन केन्द्रले सहयोगी भुमिका खेलेको बताए ।
उनले आफ्नो वडामा केन्द्रले संचालन गर्दै आएको बिभिन्न सीपमुलक तालिममा आफ्नो पनि सहकार्य रहने बताए । उनले आउने बर्षको बजेटमा केन्द्रका लागि थप बजेट बिनियोज गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा केन्द्रकी उपाध्यक्ष शाहीले महिलाहरुको सीप बिकास गरेर केन्द्रले आयआर्जन तर्फ लाग्न प्रेरित गरेको बताईन । उनले महिलाहरुको सीप विकासमा लामो समय देखि काम गर्दै आएको केन्द्रलाई पालिका, वडा, प्रदेश र संघले समेत सहयोग गर्न आग्रह गरिन् ।
अहिले केन्द्रमा सिटिभिीटीको ३ महिने सिलाई कटाई र ब्युटीशीयन सहीत अन्य तालिमहरु समेत संचालन भईरहेको छ । सो अवसरमा केन्द्रमकी पुर्व अध्यक्ष माधुरी श्रेष्ठले केन्द्रले तालिम दिएका धेरै महिलाहरु अहिले आफ्नै पसल खोलेर आयआर्जनमा अग्रसर रहेको बताईन । उनले केन्द्रलाई आर्थिक र भौतिकरुपमा संपन्न गराउन सबैले साथ दिनु पर्ने बताईन ।
हस्तान्तरण कार्यक्रममा सिलाई कटाई प्रशिक्षिका ईन्दिरा गुरुङ, ब्युटीशीयनकी प्रशिक्षिका लक्ष्मी श्रेष्ठ कार्की लगायतको सहभागीता थियो । गत बर्ष यही नगरपालिकाको वाड नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले समेत ८ वटा सिलाई मेशीन केन्द्रलाई प्रदान गरेका थिए ।