नेटुवा समुदायको परम्परागत सिपलाई आधुनिकतासँग जोड्न मौरीपालन तालिम
कपिलवस्तु, चैत ३१ गते । नेटुवा समुदायको परम्परागत मह संकलन गर्ने सीपलाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायिक बनाउने उद्देश्यले कपिलवस्तुमा तीन दिने मौरीपालन सिप विकास तालिम सम्पन्न गरिएको छ ।
वि.एम.जेड र डब्लु.एच.एच.को आर्थिक तथा प्राविधिक सहयोगमा, फरवार्ड नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित ‘सुधारिएको खाद्य प्रणाली परियोजना’ अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
फरवार्ड नेपालका उद्यम विकास अधिकृत झलक थापाका अनुसार, “नेटुवा समुदायमा पुस्तौंदेखि चल्दै आएको मह संकलन गर्ने सीपलाई वैज्ञानिक र आधुनिक विधिसँग जोडेर स्थायी आम्दानीको स्रोत बनाउन यो तालिम प्रदान गरिएको हो ।”
तालिममा नेटुवा विकास केन्द्र कपिलवस्तुका अध्यक्ष नेतराम नेटुवाले समुदायको परम्परागत सीपको संरक्षणसँगै आधुनिक ज्ञानमार्फत रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रशिक्षक तथा मौरीपालन विशेषज्ञ अनिरुद्ध प्रसाद शुक्लाले मौरीपालनका आधुनिक प्रविधि, मौरीको व्यवस्थापन, मह उत्पादनमा सुधार र बजार पहुँचका विविध पक्षबारे जानकारी दिएका थिए ।
तालिममा सहभागी सरोज नेटुवाले तालिमले आफूमा नयाँ आत्मविश्वास भरिदिएको बताए भने अर्का सहभागी महेन्द्र नेटुवाले सीपलाई व्यवसायमा रुपान्तरण गर्न आफू तत्पर रहेको बताए । सहभागीहरुले मौरीपालनमा भविष्य देख्दै यसलाई आम्दानीको स्रोतका रूपमा विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा ४ जना महिला सहित कुल २६ जनाको सहभागिता रहेको थियो ।































