कपिलवस्तु, ३१ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दहवामा जंगली जनावरको सिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगर बाख्रा चराउन जाँदा गोली लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पु¥याइएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे ।
प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार समुन्द्र गाहा मगर सोही दिन ३४ बर्षिय राम बहादुर थारु, ३६ वर्षिय कालु भन्ने राम थारुसँग जंगली जनावरको सिकार खेल्न बुद्ध यशोधरा सामुदायिक वन गएको बताउनुभयो । राम बहादुर थारुको भरुवा बन्दुक पड्किँदा समुन्द्र गाहा मगरलाई गोली लागेको प्रहरी अनुसन्धानमा खुलिएको उहाँले बताउनुभयो ।
उहाँले सिकार खेल्न गएका व्यक्तिहरूले घाइते गाहा मगरलाई कसैलाई जानकारी नदिई मेडिकल कलेज पु¥याएका थिए । घटनाको खबर पाएपछि गोरुसिङेबाट प्रहरी टोली खटिएको थियो ।
घटनामा प्रयोग भएका दुई नाल भरुवा बन्दुकमध्ये एक फायर भएको र अर्को लोडेड अवस्थामा लुकाइराखेको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो । घटनामा संलग्न राम बहादुर थारु, कालु भन्ने राम थारु र हतियार लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई पक्राउ गरिएको उहाँको भनाई छ ।