कपिलवस्तु, वैशाख ११ गते – कपिलवस्तु नगरपालिकामा नगरस्तरिय विपद् व्यवस्थापन समितिलाई लक्षित गरी एकदिने विपद् सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर प्रमुख सुदीप पौडेल, प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण विशेषज्ञ शैलेन्द्र कुमार श्रेष्ठले नेपालमा विपद् न्यूनीकरणका प्रयास, अन्य पालिकाहरूको अभ्यास, नेपालमा बारम्बार दोहोरिने विपद्का प्रकारहरू लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख पौडेलले विपद् व्यवस्थापनको लागि पूर्वतयारी, समन्वय र स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य भएको बताउँदै यस्तो अभिमुखीकरण कार्यक्रमले स्थानीय तहमा चेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले विपद् न्यूनीकरणमा नगरपालिकाले योजना बनाएर कार्य गर्ने बताउनुभयो ।
दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदसको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन धन कुमारी चौधरीले गर्नु भएको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिकाको आयोजना, दलित सामाजिक विकास केन्द्र र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको सहकार्यमा सम्पन्न भएको छ ।