नवौं प्राचीन कपिलवस्तु महोत्सव तौलिहवामा सुरु
कपिलबस्तु, बैशाख ११ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवामा नवौं प्राचीन कपिलवस्तु महोत्सव सुरु भएको छ । कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका नवौंं प्राचिन कपिलबस्तु महोत्सव हुन लागेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको प्रोत्साहन गर्ने उद्देश्य सहित तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले गर्नु भएको छ ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य पाण्डेयले महोत्सवले बुद्ध र कपिलवस्तुको ऐतिहासिक महत्व उजागर गर्दै जिल्लाको पहिचान मजबुत बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँले कपिलवस्तु क्षेत्रलाई एक समयको उर्वर कृषि भूमिको रुपमा चिनिएको स्मरण गराउँदै भारततर्फको किनमेल प्रवृत्तिका कारण स्थानीय व्यवसायी समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले यस समस्या समाधानका लागि राज्यले खाद्यान्न र अत्यावश्यक सामग्रीको भन्सार दर घटाएर व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री दानबहादुर चौधरीले वास्तविक कपिलवस्तुको ऐतिहासिकता ओझेलमा परेको भन्दै भारतमा रहेको कपिलवस्तुको नाममा भइरहेको ब्रान्डिङलाई रोक्न बुद्धसम्बन्धी कार्यक्रमहरू यहीँ केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले सदरमुकाम तौलिहवामा सञ्चालन भएको महोत्सव मेलाको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले आयोजना गरिएको मेला महोत्सवमा स्थानिय कलाकारहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने आवसर प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो अहिलेको आर्थिक मन्दीले व्यपार व्यवसाय धरासाही भएको अवस्थामा आयोजना गरिएको महोत्सवले व्यापार प्रबद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
नगरप्रमुख पौडेलले बुद्ध सर्किट विकासका लागि कपिलवस्तु, लुम्बिनी, रामग्राम र देवदह नगरपालिकाबीचको सहकार्य अघि बढेको जानकारी गराए । उनले टेक्सास राज्यमा ‘बुद्ध एड्भोकेसी डे’ मनाउन सफल प्रयास गरिएको र आगामी दिनमा अमेरिकी पर्यटक भित्र्याउने रणनीति पनि बनाइएको बताउनुभयो ।
प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद शर्माले महोत्सवले उद्यमशीलता र स्थानीय उत्पादन प्रवद्र्धनमा टेवा पु¥याउने धारणा राख्नु भएको छ । कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेले आयोजना गरिएको महोत्सवबाट भाई चरा मेलमिलाप कायम गर्न सकिने बताउनुभयो ।
तौलिहवामा आयोजना गरिउको महोत्सवबाट यहां रहेका ऐतिहासिक स्थालहरुको प्रचार प्रसारमा ठुलो टेवा पुग्ने बताउनुभयो ।
रात्रीकालीन रूपमा सञ्चालन भइरहेको महोत्सवमा ८० स्टलहरू रहेका छन् । बुद्धस्थल र अन्य पर्यटकीय स्थलको झलक दिने प्रदर्शनीसँगै, कृषि तथा घरेलु उत्पादन, झूला, बाल उद्यान तथा राष्ट्रिय–स्थानीय कलाकारको प्रस्तुति समेटिएको कार्यक्रमले समग्र कपिलवस्तुको सांस्कृतिक र व्यापारिक परिचय फैलाउने आयोजकहरूले बताएका छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था तथा स्थानीय प्रतिनिधिहरूको सहकार्यद्वारा महोत्सवलाई भव्य र प्रभावशाली बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । महोत्सव बैशाख २१ गतेसम्म तौलिहवास्थित बुद्धपद्म माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको छ ।
































