कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु
कपिलवस्तु, बैशाख १२ गते । कपिलवस्तु नगरपालिकाको पहलमा र बुद्धिष्ट चु जी फाउण्डेशनको आर्थिक सहयोगमा कपिलवस्तु नगरबासीका लागि सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु गरिएको छ । स्वास्थ्य पहुँचलाई सहज बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो सेवा प्रत्येक महिनाको दुई दिन नगरका सबै वडामा उपलब्ध हुने छ ।
मोबाइल स्वास्थ्य सेवा विशेषगरी गर्भवती महिला, ६० वर्षभन्दा बढी उमेर भएका नागरिक तथा दलित समुदायलाई लक्षित गरी निःशुल्क रुपमा प्रदान गरिने छ ।

कपिलबस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार स्वास्थ्य क्लिनिक भ्यानमा भिडियो एक्सरे, सामान्य प्रयोगशाला परीक्षणको सुविधा रहेको बताउनुभयो । उहाँले सेवामा एक जना एमबिबिएस चिकित्सक, एक जना स्टाफ नर्स र एक जना ल्याब टेक्निसियन संलग्न रहने बताउनुभयो । उक्त सेवा सम्बन्धित वडामा रहेका स्वास्थ्य चौकीहरूले तोकेको स्थानमा सञ्चालन हुने उहाँको भनाई छ ।
हस्तान्तरण समारोहमा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मोबाइल क्लिनिक सेवाले गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “यस सेवा मार्फत हामीले समुदायको स्वास्थ्य अधिकार सुनिश्चित गर्न कदम चालेका छौं । सबैको पहुँचमा गुणस्तरीय सेवा पु¥याउनु हाम्रो प्राथमिकता हो ।”

बुद्धिष्ट चु जी फाउण्डेशनकी उपाध्यक्ष भीपी लिनले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्दै स्वास्थ्य क्षेत्रमा योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “साझेदारीमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो उद्देश्य हो, र यो परियोजना त्यसको उत्कृष्ट उदाहरण हो ।”
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङ, प्रहरी उपरिक्षक निरञ्जन दत्त भटट्, १२ वटै वडाका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।































