कपिलबस्तु, बैशाख १५ गते । कपिलबस्तुको यशोधरा गाँउपालिकामा एक दिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्र कपिलबस्तुको आयोजना, युनाईटेड मिसन टु नेपालको सहयोग र यशोधरा गाँउपालिकाको समन्वयमा उक्त शिविर भएको हो ।
शिविरबाट ६० जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तीहरु मानसिक स्वास्थ्य परामर्श र उपचार उपलब्ध गराइको मानसिक स्वास्थ्य परियोजनाकी कार्यक्रम संयोजक निर्मला सिंहले बताउनुभयो । उहाँले शिविरमा मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूका साथै समान्य समस्या भएका व्यक्तीहरुले पनि चेक जाँच गराएको बताउनुभयो ।


विगत देखि नै मानसिक स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आइरहेको केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले बताउनुभयो । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुका लागि प्रत्येक महिना विशेषज्ञ डाक्टरलाई बोलाएर सेवा प्रदान गर्दै आइरहेको उहाँको भनाई छ ।
यस क्षेत्रमा मानसिक स्वास्थ्य समस्या रहेका विरामीहरुले दलित समाजिक विकास केन्द्र मार्फत नियमित चेकजाँच र निःशुल्क औषधी पाउनु निकै सरहनिय कार्य रहेको मनोचिकित्सक डां सन्दिप कुमार बर्माले बताउनुभयो । उहाँले धेरै संस्थाहरुलाई यस्ता किसिमका कार्य गर्न धेरै कठिनाई हुने गरेको बताउनुभयो ।
मानसिक स्वास्थ्य क्षेत्रमा सरकारले पनि त्यती कार्य गर्न नसकेको यशोधरा गाँउपालिका स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र कुमार मिश्रले बताउनुभयो । डिएसडिसि मार्फत यशोधरा र मायादेवीमा सञ्चालनमा रहेको मानसिक स्वास्थ्य परियोजना मार्फत यस क्षेत्रमा मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरुले अत्यधिक लाभ पाइरहेको उहाँको भनाई छ ।


तराईका दक्षिणी क्षेत्रहरूमा मानसिक स्वास्थ्य अवस्था दिनानुदिन खराब हुँदै गएको, आत्महत्याका घटना बढ्दै गएका, औषधि र परामर्शको पहुँच नहुँदा मानिसहरूले ठूलो चुनौतीको सामना गरिरहेको यशोधरा गाँउपालिका वडा नं. १ का वडाध्यक्ष जुबेर अहमद मुसलमानले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यको गलत धारणा र भ्रम तोड्दै समुदायमा सबै उमेर समूहका मानिसहरुमा विशेषज्ञ सहयोग खोज्न केन्द्रले प्रोत्साहित गर्दै आएको बताउनुभयो ।
आगामी दिनमा पनि यस्ता समुदाय हितका कार्यलाई निरन्तरता दिने संस्थाका सचिव रोहित कुमार कोरीले बताउनुभयो । शिविरमा यशोधरा गाँउपालिका भित्र रहेका विभिन्न स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।