पत्रकारहरूका लागि नसर्ने रोग सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण
तौलिहवा(कपिलबस्तु), बैशाख १८ गते । कपिलबस्तुमा पत्रकारहरुका लागि नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा, मन्त्रालयको परिपत्र अनुसार नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा तौलिहवामा पत्रकारहरूका लागि निशुल्क नसर्ने रोगहरूको परीक्षण सम्पन्न भएको हो ।
स्वास्थ्य कार्यालय कपिलवस्तु र कपिलवस्तु नगरपालिकाको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा ३० जना भन्दा बढी पत्रकारहरूको रक्तचाप, मधुमेह (सुगर), र मृगौला सम्बन्धी परीक्षण गरिएको थियो ।
सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरू सधैं व्यस्त हुने भएकाले यस्ता स्वास्थ्य कार्यक्रमहरूले उनीहरूलाई समयमै रोग पहिचान गर्न र स्वास्थ्य प्रति सजग बन्न प्रेरणा दिने बताउनुभयो । उहाँले भन्नुभयो “पत्रकारहरूको निरन्तर खटाइ बीच यस्तो कार्यक्रम अत्यन्त उपयोगी र आवश्यक छ ।”
त्यस्तै कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले पत्रकारहरू समाजका सूचक हुने भएकाले उनीहरूको स्वास्थ्यमा ध्यान दिनु पनि सार्वजनिक स्वास्थ्यको एउटा महत्वपूर्ण पाटो भएको बताउनुभयो । नसर्ने रोगहरू ढिलो गरी देखिने तर गम्भीर हुने भएकाले प्रारम्भिक परीक्षणबाट समयमै सतर्क हुन जरुरी रहेको उहाँको भनाई छ ।































