कपिलबस्तु, बैशाख २१ गते । कपिलबस्तुमा निलगाई मारेको आरोपमा प्रहरीले गोली सहित एक जनालाई पक्राउ गरेको छ । प्र्रहरीले जिल्लाको महाराजगंज नगरपालिका ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा निलगाईनिलगाई मारेको आरोपमा ६ राउण्ड गोली सहित एक जना शिकारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्टका अनुसार आईतवार राति साढे एक बजे स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेको बताउनुभयो । सोही आधारमा प्रहरीको टोलीले प्रहरीले शिवराज नगरपालिका २ हर्रवाका ५२ बर्षिय फरहान खाँनलाई गोली सहीत पक्राउ गरेको उहाँको भनाई छ ।
सरकारले निलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । शिकारीहरुको टोलीले बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर त्यहाँ उखुबारीमा पुगेका थियो ।
खानको झोलाबाट प्रहरीले ६ थान गोली, ४ थान गोलीको खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ । मरेको निलगाई, शिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामाग्री गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटा बुझाएको प्रहरी नायब उपरिक्षक भट्टले बताउनुभयो । घटनाको अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले थालेको छ । शिकारीले २ भाले जातको निलगाई शिकार गरेका थिए ।