लुम्बिनी, वैशाख २७: लुम्बिनी विकास कोषले २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा तीनदिने विशेष उत्सव वैशाख २८, २९ र ३० गते मनाउने तयारी अन्तिम चरणमा रहेको जनाएको छ। यस अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा कोषले सम्पूर्ण कार्यक्रमको जानकारी गराएको हो।

बुद्धजयन्तीको मूल समारोह वैशाख २९ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीको प्रमुख आतिथ्यतामा हुनेछ। कार्यक्रममा संघीय र प्रदेशका मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधिहरु तथा विदेशी पाहुनाहरूको सहभागिता रहनेछ।

बुद्धजयन्तीका कार्यक्रम व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोष अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। साथै विभिन्न उपसमितिहरू परिचालित गरिएका छन्।

वैशाख २८ गते राति मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजे प्रार्थना सभा र ७:३० बजे शोभायात्रा आयोजना गरिनेछ। यसबाहेक रामग्राम, तिलौराकोट, कुदान र देवदहमा पनि विविध कार्यक्रम हुनेछन्।

यस वर्ष लुम्बिनी क्षेत्रमा दीप प्रज्वलन, सरसफाई, खेलकुद, आँखा शिविर, रक्तदान, नाट्य कार्यक्रम, शान्ति ध्यान, र प्रशुति उत्सव समेत आयोजना गरिने छ।

बुद्धजयन्तीको भोलिपल्ट वैशाख ३० गते ‘बोधिसत्व सिद्धार्थ शोभायात्रा’ लुम्बिनीदेखि कपिलवस्तुको तिलौराकोटसम्म गरिनेछ। उक्त शोभायात्रामा बुद्धकालीन परिवेश झल्किने गरी विशेष तयारी गरिएको बताइएको छ।