होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छता सम्बन्धी सचेतना
कपिलवस्तु, जेठ ४ गते । जिल्लाको कृष्णनगर नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको संयुक्त समन्वयमा होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई लक्षित गरी खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, होटल तथा रेस्टुरेन्ट सञ्चालक, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्ट्रिट फुड (सडक खाद्य) तथा खाद्य स्वच्छता सम्बन्धी विभिन्न पक्षमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । सो कार्यपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुका प्रमुख सरोज खनालले गर्नु भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख शाहले भन्नुभयो, “हामी स्वस्थ समाज निर्माण तर्फ उन्मुख हुँदैछौं । त्यसका लागि खाद्य स्वच्छता अत्यन्तै महत्वपूर्ण छ । नगरपालिकाले व्यवसायीहरूलाई आवश्यक ज्ञान र सहजीकरण प्रदान गर्न यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ । हामी आगामी दिनमा अझ प्रभावकारी रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जानेछौं ।”
कार्यक्रमबाट होटल व्यवसायीहरूमा स्वच्छता र उपभोक्ता स्वास्थ्य सुरक्षाका लागि आवश्यक चेतना जगाउने विश्वास गरिएको छ ।































