निग्लिहवामा पोखरीबाट माटो निकाल्ने क्रममा अर्घसहितको मध्यकालिन शिवलिङ्ग फेला
कपिलबस्तु, जेठ ४ गते । कपिलबस्तुको निग्लिहवामा पोखरीबाट माटो निकाल्ने क्रममा अर्घसहितको मध्यकालिन शिवलिङ्ग फेला परेको छ । कपिलबस्तु नगरपालिका वडा नं. ९ स्थित निग्लिहवा गाँउको उत्तरतर्फ रहेको एक पुरानो पोखरीबाट माटो निकाल्ने क्रममा ऐतिहासिक र धार्मिक महत्व बोकेको उक्त शिवलिङ्ग फेला परेको हो ।
स्थानिय विरेन्द्र कुमार उपाध्यायका अनुसार पोखरीबाट माटो निकालेर खेतमा खासल्ने क्रममा शवलिङ्ग फेला परेको बताउनुभयो । फेला परेको शवलिङ्गलाई गाँउमा सबै संग सल्लाह गरेर पुरातत्व विभागको जिम्मा लगाउने कि स्थानियले संरक्षण गर्ने विषयमा छलफल भईरहेको उहाँले बताउनुभयो ।
स्थानिय राम दत्त कुर्मीका अनुसार शिवलिङ्गको ऐतिहासिक महत्वलाई ध्यानमा राखी यसको संरक्षण र गहिरो अनुसन्धान हुनु पर्ने बताउनुभयो । पुरातत्व विभाग तथा सम्बन्धित निकायहरूद्वारा यथाशीघ्र अध्ययन र संरक्षण प्रक्रिया थाल्नुपर्ने उहाँको भनाई छ ।
कपिलबस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माका अनुसार स्थानीयवासीहरूले पोखरीबाट माटो निकाल्ने क्रममा भेटिएको शिवलिङ्ग करिब मध्यकालमा निर्माण गरिएको हुनसक्ने अनुमान गरिएको बताउनुभयो । उहाँले शिवलिङ्ग र त्यससँगै भेटिएको अर्घले मध्यकालमा सो स्थानमा मन्दिर हुन सक्ने अनुमान गरिएको बताउनुभयो । भेटिएको शिवलिङ्गबारे संरक्षणका लागि स्थानिय बासीहरु संग छलफल भईरहेको उहाँको भनाई छ ।
शिवलिङ्ग भेटिएको पोखरी विस्तारै माटो बगेर पुरिँदै गएकाले त्यसअन्तर्गत पुरातत्विक संरचनाहरू ढाकिएको हुनसक्ने अनुमान गरिएको छ ।
भेटिएको शिवलिङ्गको संरचना अर्घसहितको तल्लो भागको गोलाइ ५ फिट ६ इन्च, दोस्रो भागको गोलाइ ४५ इन्च, माथिल्लो र तल्लो भागबीचको फरक ३ इन्च रहेको छ । शिवलिङ्गको उचाइ (माथिको भाग) साढे १६ इन्च र चिप्लो भागको गोलाइ साढे ५ इन्च रहेको छ ।
शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई पीठम् वा पीठ भनिने गरिन्छ ।































