लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा
काठमाण्डौ – लेदोसहितको पहिरोले हुम्लाको नाम्खा गाउँपालिका वडा नं.६ को तिलगाउँ उच्च जोखिममा परेको छ ।
गएको बिहीवार र शुक्रवार गाउँमा लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कालयले जनाएको छ ।
ती घरमा रहेका ३२ जना विस्थापित भएका छन् । उनीहरु घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् ।
स्थानीयवासीले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले उज्यालोलाई बताउनुभयो ।
वडाध्यक्ष पाल्जोर तामाङले हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेको बताउनुभयो ।
पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयवासीले बताएका छन् ।
चार दिनअघि नै गाउँमा पहिरो आए पनि हिमताल फुटेकोबारे हिजो मात्रै थाहा भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
आफूसहित गाउँका पाँचजनाको टोली घण्टौं हिँडेपछि हिमताल फुटेको देखिएको उहाँले बताउनुभयो ।
स्थानीयवासीले हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ ।
सुरक्षाकर्मीको टोली त्यसतर्फ गए पनि स्वास्थ्य समस्याबाले बीच बाटोबाटै फर्किएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । तर पहिरोले क्षति पुर्याएको तिलगाउँमा भने सुरक्षाकर्मीको टोली पुगेर आवश्यक उद्धारको काम गरेको उहाँले जानकारी दिनुभयो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













