कपिलवस्तु, जेठ ६ गते । कपिलवस्तु नगरपालिकामा विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
कार्यक्रम कपिलबस्तु नगरपालिकाको आयोजना दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र आइ एम स्वीडिस डेभलपमेन्ट पार्टनर को सहयोगमा भएको छ । संस्थाका कार्यकारी निर्देशक रामशरण रैदसका अनुसार, स्थानीय स्तरमा विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा निर्माण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रमका सहजकर्ता रामप्रसाद भट्टराईले नेपाल विपद् उत्थानशीलता कार्यढाँचा, स्थानीय स्तरमा तर्जुमा प्रक्रिया, एकीकृत योजना विकास, कार्यढाँचाको स्वीकृति, मूलप्रवाहीकरण, कार्यान्वयन तथा मूल्याङ्कनसम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा नं. १० का वडाध्यक्ष मोहनलाल शर्माले भविष्यको सम्भावित जोखिमहरूलाई ध्यानमा राखी नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विकास निर्माणमा पनि अझ बढी तत्परता आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पुनराम पौडेलले भने, “विपद् जोखिम न्यूनीकरणका लागि यस्ता कार्यढाँचाहरु अपरिहार्य छन् । डाटा सरल र कार्यान्वयन योग्य हुनुका साथै सबैको सहकार्य आवश्यक हुन्छ ।“
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णराम पौडेलको अध्यक्षता र नगरप्रमुख सुदीप पौडेलको प्रमुख अतिथ्यथामा भएको हो । सो अवसरमा वडा नम्बर १ देखि १२ सम्मका वडाध्यक्षहरू, विभिन्न शाखाका प्रमुखहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेय लगायतको सक्रिय सहभागिता रहेको थियो ।