कपिलबस्तु, जेठ ९ गते । कपिलबस्तुमा तीन दिन सम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले यस बर्षको गणतन्त्र दिवसलाई अझ सशक्त र सार्थक बनाउने उद्देश्यले गणतन्त्र दिवस जिल्ला समारोह समिति गठन गरिएको हो ।
समितिमा स्थानीय तह प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय प्रमुख, पत्रकार महासंघ अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको छ ।
बैठकले जेठ १४,१५ र १६ गते गणतन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको समन्वय समितिका प्रमुख आचार्यले बताउनुभयो । उहाँले दिवसको अवसरमा सरसफाइ र राष्ट्रिय झण्डा सजावट, रक्तदान कार्यक्रम, शहीद र बेपत्ता परिवारलाई सम्मान, दृष्टिविहीन विद्यार्थीलाई सहयोग, वक्तृत्वकला प्रतियोगिता, तौलिहवा बजार सरसफाइ अभियान, दीप प्रज्वलन कार्यक्रम र अनाथ बालबालिकालाई सहयोग लगायतको कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
बैठकबाट जेठ १४ गत नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कपिलवस्तु अस्पताल, तौलिहवामा रक्तदान कार्यक्रम, सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा २१ दृष्टिविहीन विद्यार्थीहरूलाई झोला वितरण, कपिलवस्तु नगरपालिकामा “गणतन्त्रमा नागरिकको भूमिका” विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको छ ।
त्यस्तै जेठ १५ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको नेतृत्वमा तौलिहवा बजार सरसफाई, तौलिहवा उद्योग वाणिज्य संघको सहयोगमा जिल्ला प्रशासन कार्यालय अगाडि दीप प्रज्वलन गरिने निर्णय गरिएको हो ।
सोही अवसरमा जेठ १६ गते कर्मचारी मिलन केन्द्रद्वारा बालमन्दिरका अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख आचार्यको भनाई छ ।
बैठकमा समिति तथा सरोकारवालाहरूले यस वर्षको गणतन्त्र दिवसलाई राष्ट्रिय एकता, लोकतन्त्रप्रतिको सम्मान र जनसहभागिताबाट अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभउको छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्ट, नेपाल पक्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।