यशोधरा गाउँपालिकामा ‘डिजिटल नागरिक वडा पत्र’ सञ्चालन
कपिलवस्तु, जेठ ९ । जिल्लाको यशोधरा गाउँपालिकाले स्थानीय तहका सेवाहरूलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले डिजिटल नागरिक वडा पत्र सञ्चालनमा ल्याएको छ । यो प्रविधिमैत्री पहलमार्फत सेवाग्राहीहरूलाई सबै सेवा, प्रक्रिया, आवश्यक कागजात र शुल्कसम्बन्धी जानकारी एउटै प्लेटफर्मबाट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषभ देव खनालका अनुसार, “डिजिटल नागरिक वडा पत्र मार्फत नागरिकले वडास्तरमै आफूलाई आवश्यक सेवा कस्तो प्रक्रिया अपनाएर प्राप्त गर्ने, कुन कागजात चाहिन्छ भन्ने जानकारी सजिलै लिन सक्नेछन् । यसले सेवा प्रवाहमा पारदर्शिता र सहजता ल्याउँछ ।”
गाउँपालिका अध्यक्ष दयाल तिवारीले भने, “हामीले गाउँमा बस्ने जनताले अब सेवा लिनका लागि कार्यालय धाउन नपरोस् भन्ने सोचसहित यो डिजिटल प्रणाली ल्याएका हौँ। सुशासन, जवाफदेहिता र छिटो सेवा प्रवाह हाम्रो प्रमुख लक्ष्य हो ।”
डिजिटल नागरिक वडा पत्रमार्फत सेवा विवरणका साथसाथै, निवेदन फारम, कार्यसम्पादन समयावधि, सम्बन्धित कर्मचारीको जानकारी पनि नागरिकले प्राप्त गर्न सक्नेछन् ।
गाउँपालिकाले सबै वडामा यो प्रणाली विस्तार गर्दै डिजिटल रूपान्तरणमा सक्रिय भूमिका खेल्ने योजना बनाएको जनाएको छ । यसले सुशासन र नागरिक सशक्तिकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
































