काठमाण्डाै – रुपन्देहीको बुटवलमा तीन जनाको हत्या भएको घटनामा मारिएकी महिलाका पूर्वपति पक्राउ परेका छन् । हत्या गरिएकी ३४ वर्षीया दीपा बस्यालका पूर्वपति ३५ वर्षका सुजन कोइरालालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहान बुटवलको होराइजन चोकमा दीपासहित उहाँका दुई छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको थियो । उनीहरूलाई आफ्नै घरमा बोलाएर कोइरालाले हत्या गरेका खुलेको प्रहरीले जनाएको छ ।

दीपा र सुजनबीच २०६९ सालमा विवाह भएकोमा २०७२ सालमा सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद हुँदा सुजन आफ्नै दाजुको हत्या आरोपमा जेल परेका थिए । सम्बन्धविच्छेदपछि दीपाले दोस्रो विवाह गरेर सन्तान जन्माउनुभएको हो । दीपाका अहिलेका पति भने वैदेशिक रोजगारीमा हुनुहुन्छ ।

पाल्पामा स्वास्थ्यकर्मीका रूपमा काम गर्ने दीपा आफन्तको विवाहका लागि बुटवल आउनुभएको हो । त्यही बेला पूर्वपति सुजनले दीपालाई घरमा बोलाएका थिए । गएराति दीपा र उहाँका दुई छोरीहरू सुजनकै घरमा बसेकामा बिहानपख हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।