कपिलवस्तु, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु नगरपालिकाले बजार क्षेत्रमा सरसफाई तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नगर प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्ट, वडा नं. १ का अध्यक्ष मोहम्मद जाहिद खा, वडा सदस्य, नगरपालिका तथा विभिन्न सरकारी तथा गैह्रसरकारी निकायका कर्मचारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा बजार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिनुका साथै विभिन्न स्थानहरूमा डस्टविनहरू वितरण गरिएको थियो। नगर प्रमुख पौडेलले यो अभियानलाई एउटा सानो संस्थागत प्रयास भन्दै, स्वस्थ, स्वच्छ र हराभरा नगर क्षेत्र निर्माणका लागि सम्पूर्ण वडाबासी तथा नगरवासीहरूले आफ्नो दैनिक बानीमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “नगर सफा राख्न प्रशासन, कर्मचारी वा संस्था मात्रको जिम्मेवारी होइन, यो हामी सबैको साझा कर्तव्य हो। यसका लागि आजैदेखि हामीले हाम्रो व्यवहारमा सुधार ल्याउनु जरूरी छ।”

यस अभियानबाट नगरवासीहरूमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ।