आठौं मेयर कपको उपाधी कपिलबस्तु नगरपालिका वडा नं. २ लाई
तौलिहवा(कपिलबस्तु), जेठ १९ गते । जिल्लाको कपिलबस्तु नगरपालिकामा आयोजित आठौं नगर स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २ ले जितेको छ । फाइनल खेलमा वडा नम्बर १२ लाई ७ बिकेटले हराउदै वडा नम्बर २ ले उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको वडा १२ ले निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो । टोलीका लागि आरएन मिश्रले ३६ बलमा ३४ रन तथा रमजान अलीले १३ बलमा १९ रनको योगदान दिइएका थिए ।
बलिङतर्फ वडा २ का सरफुद्दिन गद्दीले प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिएका हुन् ।
जवाफी ब्याटीङमा उत्रेको वडा २ ले १२.३ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १०२ रन बनाएको हो । वडा नं. २ का पवन गुप्ताले १८ बलमा ३६ रन र शिवकुमार मौर्याले २३ बलमा ३३ रन बनाएका थिए ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आकाश यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएर ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । वडा १२ का जीवन मौर्याले प्रतियोगिता भर १० विकेट लिएर ‘बेस्ट बलर’ को उपाधि पाए भने, ‘म्यान अफ द सिरीज’ को उपाधि वडा १२ कै विजय कुमार उपाध्यायले प्राप्त गरेका थिए । उहाँले प्रतियोगितामा ६२ रन बनाउनुका साथै ६ विकेट लिएका थिए । उनीहरुलाई नगद पाँच हजारका दरले पुरस्कृत गरिएको थियो ।
जितसंगै वडा नम्बर २ ले नगद ६० हजार कप तथा उप बिजेता वडा नम्बर १२ ले नगद ३० हजार हात पारेको हो । बिजयी खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डे र नगर प्रमुख सुदीप पौडेलले मेडल कप प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए ।































