कपिलवस्तु । साना किसान कृषि सहकारी संस्था लि. निग्लिहवाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तौलिहवा कपिलवस्तुको प्राविधिक सहयोगमा निग्लिहवामा खाद्य स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय खाद्य उद्योगी, होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई खाद्य स्वच्छताको महत्व, मापदण्ड तथा कानुनी पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख सरोज खनालले खाद्य स्वच्छता मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसप्रति सबै सचेत रहनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “खाद्य स्वच्छता कायम राख्न न त धेरै खर्च लाग्छ, न त धेरै समय। यो हाम्रा दैनिक अभ्यासमा लागू गर्न सकिने सजिलो तर महत्वपूर्ण बानी हो।”

त्यस्तै, साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवा का प्रबन्धक बसन्त मुराउले सहकारीको तर्फबाट यस्ता कार्यक्रमहरू नियमित रुपमा सञ्चालन गरिने प्रतिवद्धता जनाए। उनले भने, “स्थानीय तहमा खाद्य स्वच्छता सम्बन्धि सचेतना अभाव देखिएकोले हामीले यो कार्यक्रम आयोजना गरेका हौं। यस्ता प्रयासहरू मार्फत व्यवसायीहरूमा जिम्मेवारिता र उपभोक्तामा विश्वास बढाउने हाम्रो लक्ष्य छ।”

कार्यक्रममा सहभागीहरुले पनि यस्ता कार्यक्रमले व्यावसायिक क्रियाकलापमा सुधार ल्याउने विश्वास व्यक्त गरेका थिए।